काठमाडौँ । नेपालको वैदेशिक रोजगार व्यवसायमा फेरि एकपटक “सिन्डिकेट” को छायाँ देखिएपछि व्यवसायीहरू खुला रुपमा उत्रिएका छन्। मलेसियाको रोजगारी व्यवस्थापनका नाममा पुनः सक्रिय बन्न खोज्ने सिन्डिकेट समूहविरुद्ध मंगलबार आयोजित बृहत् व्यवसायी भेलाले सामूहिक रूपमा “नो सिन्डिकेट” अभियानको सुरुवात गरेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा गठित संघर्ष समितिको आयोजनामा भएको भेलामा व्यवसायीहरूले कालोपट्टी बाँधेर ‘नो सिन्डिकेट’ लेखिएको व्यानरसहित सामूहिक प्रतिबद्धता जनाएका थिए ।
भेलामा वरिष्ठ व्यवसायी हेमबहादुर गुरुङ, संघका सल्लाहकार नवराज केसी, तिलकबहादुर रानाभाट, राजेन्द्र भण्डारी, हरिबहादुर पाण्डे क्षेत्री, पूर्वअध्यक्षहरू दिलप्रसाद पोखरेल, प्रेमबहादुर कटुवाल, विमल ढकाल, रोहन गुरुङ, लोकतान्त्रिक एसोसिएसनका अध्यक्ष दीपक थापा, प्रगतिशील मञ्चका अध्यक्ष जनक रावल, गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसी र तमुधी समाजका तीर्थबहादुर गुरुङ, नेवा समाजका अध्यक्ष किसन प्रधानलगायत बिभिन्न संघ–संस्थाका प्रतिनिधिहरू उपस्थित थिए ।
संघका अध्यक्ष भुवनसिंह गुरुङले सिन्डिकेट अन्त्यनै आफ्नो प्रमुख एजेन्डा रहेकाबताउदै भने, कुनै पनि हालतमा सिन्डिकेट लाग्न दिदैनौं।” उनका अनुसार, देशभरका १,०६२ वैदेशिक रोजगार व्यवसायीमध्ये अझै २४५ जनाले मात्र प्रतिबद्धता हस्ताक्षर गर्न बाँकी छ । प्रतिबद्धता संकलन पूरा भएपछि संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र श्रम मन्त्रालयमा आधिकारिकरूपमा बुझाउने तयारी गरेको छ ।
पूर्वअध्यक्ष विमल ढकालले नेतृत्वलाई प्रलोभनबाट जोगिन आग्रह गर्दै भने, “मलेसियाको मापदण्ड पूरा गर्न सक्ने व्यवसायीहरूलाई पहिचान गरेर एकजुट बनाउने हो भने सिन्डिकेटको ढोका सधैंका लागि बन्द हुन्छ ।”लोकतान्त्रिक संघका अध्यक्ष दीपक थापाले थपे, “१ हजारभन्दा बढी व्यवसायीको पेटमा लात हानेर केही व्यक्तिले मात्रै व्यापार गर्ने प्रवृत्ति सह्य हुँदैन।”प्रगतिशील मञ्चका अध्यक्ष जनक रावलले संविधान र कानुनविपरीत सिन्डिकेट लाद्नेहरूको घरमै घेराउ गर्ने चेतावनी दिए । उनले भने “अब टुलुटुलु हेरेर बस्दैनौं,” उनले भने, “जो सिन्डिकेट गर्छ, ऊ सडकमा सार्वजनिक हुनेछ ।”गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीले सिन्डिकेटलाई कामदार र व्यवसायीको पेटमा लात हान्ने षड्यन्त्रको रूपमा चित्रित गर्दै एकताबद्ध प्रतिवाद नै विकल्प भएको बताए।संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठले केही सिन्डिकेटधारीहरूले “म्यानपावर छनोटका नाममा ठूलो रकम उठाएको” आरोप लगाउँदै भने, “तीन दिनभित्र रकम फिर्ता गर, नभए भौतिक कारबाही सुरु हुनेछ ।”संघका निवर्तमान सचिव कर्णराज कटुवालले सिन्डिकेटमा संलग्न केही व्यक्तिहरू पनि भेलामा उपस्थित भएको दाबी गर्दै भने,“ती व्यक्तिहरूले आफ्नो गल्ती नस्वीकारे मसँग भएका प्रमाण म सार्वजनिक गर्छु।”
त्यसैगरी वरिष्ठ व्यवसायी हेम गुरुङले सरकारले दिएको लाइसेन्सका आधारमा सबै व्यवसायी बराबर भएको र मापदण्डका नाममा व्यवसायी फुटाउन खोजिएको धारण व्यक्त गरे।”

